कोहलपुर, बाँके। नेपाली कला, संस्कृति तथा संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा ‘सुरताल म्युजिकल टुर २०८३’ अन्तर्गत भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
सुरताल इभेन्ट एण्ड एन्जुमेन्ट प्रा.लि.को आयोजनामा आगामी मंसिर ११ गते शुक्रबार कोहलपुर खेल मैदानमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने कार्यक्रममा नेपाली संगीत क्षेत्रका चर्चित गायक प्रकाश सपुतसहित विभिन्न कलाकार तथा सांगीतिक समूहको प्रस्तुति रहनेछ।
कार्यक्रममा प्रकाश सपुत, भाका नेपाल, प्रमोद एण्ड परम्परा ब्याण्ड तथा फिरन्ते ब्याण्डलगायतको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन कृष्णराज अधिकारी र ममता थापालियाले गर्नेछन्।
आयोजक संस्थाका अध्यक्ष प्रशान्त सुनारका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नेपाली संगीतलाई देशका विभिन्न भूगोल, समुदाय र दर्शकमाझ पुर्याउनुका साथै स्थानीय स्तरमा सांगीतिक तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्नु हो।
उनका अनुसार यो कार्यक्रम मनोरञ्जनका लागि मात्र नभई नेपाली कलाकार, संगीत र सिर्जनशीलतालाई देशव्यापी रूपमा जोड्ने अभियानसमेत हो। देशका सातै प्रदेशमा सांगीतिक कार्यक्रममार्फत नेपाली संगीतको पहिचान र पहुँच विस्तार गर्ने लक्ष्य आयोजकले लिएको छ।
कार्यक्रमको टिकट ई–सेवामार्फत उपलब्ध हुने व्यवस्था मिलाइएको छ। दर्शकले जम्मा ३०० रुपैयाँमा विभिन्न सांगीतिक प्रस्तुति हेर्न सक्ने आयोजकले जनाएको छ।
कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र मनोरञ्जनपूर्ण बनाउन आवश्यक तयारी भइरहेको आयोजकले जानकारी दिएको छ साथै म्युजिकल टुरबाट भएकाे आम्दानिकाे २०% बाढीपीडित लाई दिईने आयाेजकले जनाएकाे छ ।
आयोजक: सुरताल इभेन्ट एण्ड एन्जुमेन्ट प्रा.लि.
स्थान: कोहलपुर खेल मैदान, बाँके
मिति: मंसिर ११ गते, शुक्रबार, २०८३
समय: दिउँसो २ बजेदेखि राति १० बजेसम्म
टिकट: रु. ३००
See less
प्रतिक्रिया

