काठमाडौं। अपराध नियन्त्रणदेखि सीमा सुरक्षासम्म प्रभावकारी कार्यसम्पादन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देही नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन २०८३ मा प्रथम हुन सफल भएको छ। ७१औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले रुपन्देहीलाई उत्कृष्ट जिल्ला प्रहरी कार्यालयका रूपमा छनोट गर्दै ‘प्रहरी ब्याटन’ प्रदान गरेको हो।
रुपन्देही प्रहरीको यस उपलब्धिसँगै कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाही पनि ‘सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय प्रमुख’ को उपाधिबाट सम्मानित भएका छन्।
शाहीको नेतृत्वमा रुपन्देही प्रहरीले अपराध नियन्त्रण, सीमा क्षेत्रमा शान्ति सुरक्षा व्यवस्थापन, नागरिकमैत्री प्रहरी सेवा प्रवाह तथा मातहतका प्रहरी इकाइहरूको प्रभावकारी परिचालनमा उल्लेखनीय कार्यसम्पादन गरेको मूल्याङ्कन गरिएको छ।
प्रहरी संगठनभित्र जिम्मेवारीप्रतिको प्रतिबद्धता, व्यावसायिक दक्षता, अनुशासन र कार्यक्षमताले प्रभावकारी नेतृत्वको पहिचान स्थापित गर्ने गर्दछ। एसपी शाहीले आफ्नो कार्यकालमा प्रदर्शन गरेको नेतृत्व क्षमता र सुरक्षा व्यवस्थापनमा निर्वाह गरेको भूमिकाको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
जिल्लामा शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने र नागरिकको विश्वास जित्ने कार्यमा प्रहरीको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। यस सन्दर्भमा रुपन्देही प्रहरीको प्रथम स्थानले संस्थागत कार्यसम्पादन र नेतृत्व क्षमताको महत्त्वलाई थप उजागर गरेको छ।
७१औँ प्रहरी दिवसका अवसरमा प्राप्त यो सम्मानले रुपन्देही प्रहरीको कार्यसम्पादनलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउनुका साथै आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।

