पुष ८, कोहलपुर। कोहलपुर- अत्यधिक चिसोका कारण मौसम प्रतिकूल बनेपछि कोहलपुरका बिधालय भोलिदेखि बन्द हुने भएका छन् । कोहलपुर नगरपालिका शिक्षा शाखाले विद्यालयको पठनपाठन दुई दिन बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा शाखाका अनुसार प्राप्त सुझावका आधारमा पौष ०९ र ११ गते कोहलपुर नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठनपाठन बन्द रहनेछ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिलाल मिजारले चिसो अत्यधिक बढेकाले कोहलपुर नगरपालिकाभित्रका सबै विद्यालयमा दुई दिन बिदा दिइएको जानकारी दिए । शिक्षा शाखाले चिसो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको जनाएको छ ।
केही दिनयता बाँके आसपासका क्षेत्रमा अत्यधिक चिसो बढ्दै गएको छ । मंगलबार दिनभर घाम नलाग्नुका साथै निरन्तरको शितलहरका कारण जनजीवन प्रभावित बनेको छ । विशेषगरी विद्यालय जाने बालबालिका तथा विद्यार्थीहरू चिसोबाट बढी प्रभावित भएका छन् ।

