नेपालगञ्ज, २८ असोज। नेपाल पत्रकार महासंघ बाँके शाखाले दशैं, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा शाखाको स्थापनाकालदेखि हालसम्म निर्वाचित पदाधिकारीहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको छ।
नेपालगञ्जस्थित सञ्चारग्राम (बसपार्क) मा बुधबार आयोजित कार्यक्रममा महासंघ बाँके शाखाका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारु प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता शाखा अध्यक्ष नवीन गिरीले गर्नुभएको थियो भने सञ्चालन सचिव कृष्ण ओलीले गर्नुभएको थियो।
कार्यक्रममा पत्रकारिता क्षेत्रको व्यावसायिक मर्यादा, पत्रकारबीचको एकता, सहकार्य तथा सामाजिक सद्भावको महत्त्वबारे चर्चा गरिएको थियो। कार्यक्रममा पत्रकार शुक्रऋषि चौलागाईं, निरज गौतमलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमले पत्रकारबीच आत्मीयता र संस्थागत एकता अभिवृद्धि गर्नुका साथै चाडपर्वको खुसी साटासाट गर्ने अवसर प्रदान गरेको महासंघले जनाएको छ।

