कोहलपुर । चाडपर्वमा महिला सुरक्षा र सामाजिक जिम्मेवारी विषयक अन्तरक्रिया तथा दशैँ, तिहारको शुभकामना आदानप्रदान कार्यक्रम बाँकेको कोहलपुरमा सम्पन्न भएको छ ।
सञ्चारिका समूह नेपाल, बाँके शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा महिला सुरक्षा, सामाजिक जिम्मेवारी तथा चाडपर्वलाई सुरक्षित र मर्यादित रूपमा मनाउने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मी, सुरक्षाकर्मीका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी सहभागी थिए भने कार्यक्रमको सभाध्यक्षता सञ्चारिका समूहकी प्रदेश उपाध्यक्ष रूपा गहतराजले गरेकी थिइन । कार्यक्रमको सञ्चालन धना केसीले गरेकी थिइन ।
कार्यक्रममा सञ्चारिका समूहकी सहसचिव अनिता वि.क.ले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन । त्यसैगरी सञ्चारकर्मी पुष्पराज हमाल, विष्णु बेलबासे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजेन्द्र श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै चाडपर्वका अवसरमा महिला सुरक्षा, सामाजिक सद्भाव र आपसी सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रतिनिधिसहित विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले चाडपर्वका समयमा महिलामाथि हुन सक्ने हिंसा, दुर्व्यवहार तथा अन्य सामाजिक समस्याप्रति सचेत रहँदै सुरक्षित वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रमले महिला सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्नुका साथै सञ्चारकर्मी, सुरक्षा निकाय र समाजका विभिन्न पक्षबीच सहकार्य तथा सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धता बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

