कञ्चनपुर, साउन ४ – कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटाका च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेका १४ महिला आइतबारदेखि सम्पर्कविहीन भएका छन । उनीहरू निकुञ्जको मालुमेला पोस्ट हुँदै जंगलभित्र प्रवेश गरेका थिए ।
स्थानीयका अनुसार आइतबार बिहान करिब ११ बजे च्याउ खोज्न निकुञ्जभित्र गएका महिलाहरू साँझसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोलीले रातिदेखि नै खोजी तथा उद्धार अभियान सुरु गरेको हो ।
यसैबीच, सोमबार बिहान सम्पर्कविहीनमध्ये तीन जना महिलासँग टेलिफोन सम्पर्क भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलडाँगीका प्रहरी निरीक्षक जय कार्कीका अनुसार बेलडाँडी गाउँपालिका-२ चवन्नीकी मञ्जु क्षेत्री, लक्ष्मी थापा र सरिता चौधरीले आफुहरू सुरक्षित रहेको जानकारी दिएका छन ।
उनीहरूले रातभर सिमलको रुखको फेदमा बसेर रात कटाएको बताएका छन तर आफुहरू रहेको स्थान ठ्याक्कै बताउन नसक्दा उद्धार टोलीलाई उनीहरूसम्म पुग्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
हाल नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले सम्भावित क्षेत्रमा व्यापक खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ ।
प्रहरीका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका धेरै क्षेत्रमा मोबाइल नेटवर्कले काम नगर्ने भएकाले सम्पर्क गर्न र खोजी अभियान सञ्चालन गर्न चुनौती भइरहेको छ अन्य महिलाको अवस्था र स्थानबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

