काठमाडौं – प्रहरीले मकवानपुर, कैलाली र बर्दियाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना मकवानपुरमा ठूलो परिमाणको गाँजासहित पक्राउ परेका हुन ।
प्रहरीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीमा चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४८९३ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा गाँजा जस्तो देखिने करिब १०९ किलो ९६ ग्राम पदार्थ बरामद गरिएको छ । उक्त घटनामा धादिङको गजुरी नगरपालिका-७ किरानचोक निवासी ४१ वर्षीय सुमन तामाङ सहित दुई जनालाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
यस्तै, कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट १ ग्राम ११० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित टीकापुर नगरपालिका-३ कटानपुर निवासी २६ वर्षीय उमेश चौधरी पक्राउ परेका छन । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले बुधबार बिहान उनलाई नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, बर्दियाको बाँसगढी नगरपालिका-१ चेपाङ बजारमा कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको हायस गाडीमा सवार बढैयाताल गाउँपालिका-६ निवासी २४ वर्षीय आशिष थारूलाई करिब ३७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले तीनै घटनामा बरामद लागुऔषध नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

