नेपालगञ्ज, असार ३१। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाही लुम्बिनी प्रदेश अन्तर्गत जेठ महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषित भएका छन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले उत्कृष्ट कार्यसम्पादन, प्रभावकारी नेतृत्व र सेवामुखी कार्यशैलीको मुल्याङ्कन गर्दै उहाँलाई उक्त सम्मान प्रदान गरेको हो ।
प्रहरी निरीक्षक शाहीको नेतृत्वमा बाँकेमा ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित, अनुशासित र नागरिकमैत्री बनाउने अभियान प्रभावकारी बनेको प्रहरीले जनाएको छ । सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना गराउन जनचेतनामुलक कार्यक्रम, सुरक्षित सडक संस्कृतिको विकास तथा सेवाग्राहीसँगको व्यवहार सुधारमा केन्द्रित पहलले उल्लेखनीय उपलब्धि हासिल गरेको मूल्याङ्कन गरिएको छ ।
प्रदेशस्तरीय यो सम्मानले शाहीको व्यक्तिगत कार्यक्षमतामात्र नभई बाँके ट्राफिक प्रहरीको समग्र कार्यसम्पादनलाई समेत राष्ट्रिय स्तरमा चिनाएको छ । पछिल्लो समय जिल्लामा ट्राफिक व्यवस्थापनमा देखिएको सुधार र नागरिकसँगको सहकार्यले पनि उक्त उपलब्धिमा महत्वपुर्ण भुमिका खेलेको बताइएको छ ।
सम्मानपछि प्रहरी संगठनभित्र जिम्मेवारी, अनुशासन र परिणाममुखी कार्यशैलीलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । प्रहरी निरीक्षक शाहीले आगामी दिनमा पनि सुरक्षित, व्यवस्थित र सभ्य सडक यातायात व्यवस्था निर्माणका लागि प्रतिबद्ध भएर काम गर्ने विश्वास व्यक्त गरिएको छ ।


