नेपालगञ्ज, असार ३२ – जिल्ला प्रहरी कार्यालय बाँकेले भुमि प्रशासन कार्यालय (साबिक मालपोत कार्यालय) परिसरमा सेवाग्राहीलाई अनावश्यक दुःख-हैरानी दिने कार्यमा संलग्न १५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत रहेको भुमि प्रशासन कार्यालय परिसरमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख-हैरानी दिने तथा अनधिकृत रूपमा गतिविधि सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका १५ जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । उनीहरूलाई सेवाग्राहीको सहज सेवा प्रवाहमा अवरोध पुर्याउने तथा अनधिकृत गतिविधिमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सरकारी कार्यालय परिसरमा बिचौलियामार्फत हुने अनियमितता तथा सेवाग्राहीमाथि हुने दुःख-हैरानी नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ साथै, कुनै पनि सरकारी सेवा लिँदा बिचौलियाको भर नपरी सम्बन्धित कार्यालयबाटै प्रक्रिया पुरा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

