काठमाडौं | वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर १४ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका ३९ वर्षीय दावा योञ्जन र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने बारा आदर्श कोटवाल गाउँपालिका-४ घर भएका २७ वर्षीय अनिल कुमार यादव रहेका छन ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दावा योञ्जनले सर्बिया र संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै ७ जना पीडितबाट ११ लाख ४५ हजार रुपैयाँ असुलेका थिए । त्यसैगरी अनिल कुमार यादवले मलेसिया पठाइदिने भन्दै २ जना पीडितबाट २ लाख ८७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
उजुरीपछि गरिएको अनुसन्धानका क्रममा दावालाई भक्तपुरको सूर्यविनायकबाट र अनिललाई काठमाडौंको कागेश्वरी मनोहराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

