काठमाडौं, साउन ४ – नेपालमा बालयौन दुराचार मुद्दामा ९ वर्ष कैद सजाय भोगेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्स अमेरिकाको संघीय अदालतबाट पनि नेपालमै गरेको बालयौन दुराचारसम्बन्धी कसुरमा दोषी ठहर भएका छन ।
अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार आफ्नो वेबसाइटमार्फत कुम्ब्स दोषी ठहर भएको जानकारी सार्वजनिक गरेको हो । उनी सन् २०२५ को सेप्टेम्बरदेखि अमेरिकी कानुन प्रवर्तन निकायको हिरासतमा छन । उनीविरुद्ध आगामी अक्टोबर २८, २०२६ मा सजाय सुनाइने तय भएको अमेरिकी न्याय विभागले जनाएको छ ।
नेपालमा यसरी पक्राउ परेका थिए
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालकहरूको यौन शोषणका लागि संगठित गिरोह सञ्चालन भइरहेको सूचनाका आधारमा अनुसन्धान थालेको थियो । सोही क्रममा २०७३ भदौ २४ गते काठमाडौंको ठमेलस्थित याम्बु होटलबाट कुम्ब्स पक्राउ परेका थिए ।
उनीसँगै बालयौन दुराचारका लागि सहयोग गरेको आरोपमा काठमाडौं स्वयम्भूका बुद्ध पुतवार (लुच्चे) पनि पक्राउ परेका थिए ।
नेपाली अदालतले ९ वर्ष कैद सजाय दिएको थियो
काठमाडौं जिल्ला अदालतले २०७४ वैशाख १० गते कुम्ब्सलाई ९ वर्ष कैद सजाय सुनाएको थियो । उनका सहयोगी बुद्ध पुतवारलाई ४ वर्ष कैद सजाय भएको थियो । नेपालमा सजाय पुरा गरेपछि कुम्ब्स अमेरिका फर्किएका थिए ।
आठ बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग
अमेरिकी न्याय विभागका अनुसार कुम्ब्सले सन् २०१६ मा नेपाल बसाइका क्रममा होटलमा आठ जना बालबालिकामाथि यौन दुर्व्यवहार गरेका थिए । उनले पीडितहरूलाई बल प्रयोग गर्ने, जबरजस्ती नशालु पदार्थ सेवन गराउने तथा पैसाको प्रलोभनमा पारेर यौन शोषण गरेको अभियोग पुष्टि भएको जनाइएको छ ।
अनुसन्धानका क्रममा कुम्ब्सका इलेक्ट्रोनिक उपकरणबाट पीडित बालबालिकाका तस्वीरहरू समेत बरामद भएको अमेरिकी न्याय विभागले जनाएको छ ।
नेपालका निकायको अनुसन्धानमा सहयोग
यस मुद्दाको अनुसन्धानमा नेपालस्थित अमेरिकी दूतावास, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय तथा गैरसरकारी संस्था नयाँ पाइला ले महत्वपुर्ण सहयोग गरेको अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले उल्लेख गरेको छ ।

