
नेपालगंज, बाँके-करिब दुई महिनाअघि ३५ वर्षीया शिला श्रेष्ठ सामान्य पाठेघरको सिस्ट हटाउने शल्यक्रियाका लागि केयर सिटी अस्पताल पुगेकी थिइन । डा. राजन महत र उनको टोलीले गरेको शल्यक्रिया सफल भएको भन्दै अस्पतालले नियमित फलोअपमा बोलाइरहेको थियो । शिला पनि निर्धक्क थिइन उनलाई लाग्थ्यो-अब स्वास्थ्य सामान्य बन्दैछ, जीवन फेरि पुरानै लयमा फर्किँदैछ ।
फलोअप कै शिलशिलामा जेठ २१ गते बिहान उनी आफैं स्कुटर चलाएर श्रीमान अमृत श्रेष्ठलाई पछाडि राखी अस्पताल पुगिन । त्यो दिन पनि उनी सामान्य अवस्थामै थिइन हाँस्दै, बोल्दै, आफ्नै खुट्टाले अस्पताल प्रवेश गरेकी शिला केहीबेरको नियमित जाँचपछि घर फर्कने योजनामा थिइन ।
तर नियतिले अर्कै कथा लेखिसकेको थियो ।
फलोअप चेकअपका लागि भित्र लगिएकी शिला लामो समयसम्म बाहिर नआएपछि श्रीमान अमृत श्रेष्ठले पटक-पटक चिकित्सकसँग सोधपुछ गरे, अन्ततः उनलाई सुनाइयो-“उहाँको मृत्यु भइसकेको छ।”
त्यो एक वाक्यले केवल एउटा जीवन मात्र समाप्त गरेन, एउटा परिवारका सबै सपना, सबै योजना र सबै आशा एकै क्षणमा चकनाचुर बनाइदियो ।
स्वस्थ अवस्थामा आफ्नै खुट्टाले अस्पताल प्रवेश गरेकी श्रीमतीको शव बुझ्नुपरेको पीडा अमृत श्रेष्ठका लागि शब्दमा बयान गर्न सकिने विषय रहेन।
अब परिवारको पीडा आक्रोशमा बदलिएको छ।
उनीहरूको प्रश्न स्पष्ट छ-फलोअप चेकअपका लागि गएकी एक स्वस्थ महिलाको मृत्यु आखिर कसरी भयो ?
यदि शल्यक्रिया सफल भएको थियो भने दुई महिनापछि नियमित जाँचका क्रममा यस्तो के भयो, जसले उनको ज्यान नै गयो ?
परिवारले चिकित्सक, अस्पताल प्रशासन र सम्बन्धित निकायसँग लगातार प्रश्न गरिरहेको छ तर उनीहरूको दाबीअनुसार अहिलेसम्म कुनै स्पष्ट र चित्तबुझ्दो उत्तर प्राप्त भएको छैन ।
घटनापछि पिडित परीवारले सयमता अपनाइ रिसलाइ नियन्त्रिण गरी , सम्भावित अप्रिय घटना हुन दिएनन र पीडित परिवार न्यायको खोजीमा प्रहरी प्रशासन, जिल्ला प्रशासन र मेडिकल काउन्सिलसम्म पुग्यो ।
सबैतिरबाट अनुसन्धान र न्यायको आश्वासन त आयो, तर एक महिना बितिसक्दा पनि न पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ, न अनुसन्धानको निष्कर्ष आएको छ ।
यसले परिवारमा न्यायप्रतिको विश्वास कमजोर बन्दै गएको छ ।
मृतकका श्रीमान अमृत श्रेष्ठ भन्छन –
“हामीले अहिलेसम्म शान्तिपूर्ण रूपमा न्याय खोजिरहेका छौं । तर हाम्रो शान्त स्वभावलाई कमजोरी ठानियो, दोषीलाई जोगाउने प्रयास गरियो भने अस्पतालले ठुलो क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ। त्यसको जिम्मेवार अस्पताल प्रशासन र मेडिकल काउन्सिल र न्यायीक निकाय जिल्ला प्रशासन प्रहरी प्रशासन हुनेछन ।”
उनको यो अभिव्यक्तिले पीडित परिवारको निराशा, आक्रोश र न्यायप्रतिको व्याकुलता स्पष्ट देखाउँछ ।
अब प्रश्नहरू थप गम्भीर बनेका छन –
- स्वस्थ अवस्थामा अस्पताल पुगेकी महिलाको मृत्युको वास्तविक कारण के हो?
- उपचार प्रक्रियामा कुनै लापरबाही भयो कि भएन ?
- पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्न किन ढिलाइ भइरहेको छ ?
- पीडित परिवारले न्याय पाउने दिन कहिले आउँछ ?
- कि नेपालमा न्याय पाउन अर्को कुनै अप्रिय घटना नै कुर्नुपर्छ ?
यी प्रश्नहरूको उत्तर सम्बन्धित निकायले समयमै दिन सकेन भने एउटा परिवारले मात्र होइन, स्वास्थ्य प्रणालीप्रतिको आम नागरिकको विश्वासले पनि गम्भीर क्षति व्यहोर्नुपर्नेछ ।

