असार २१, कोहलपुर – कृषिलाई आधुनिक, व्यवसायिक तथा प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत कोहलपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गरी किसानहरूलाई विभिन्न कृषि उपकरण हस्तान्तरण गरेको छ ।
नगरपालिकाले कार्यक्रममार्फत २२ एच.पी. क्षमताका ६ थान पावर टिलर कृषि फार्म तथा कृषक समूहलाई, १८ एच.पी. क्षमताका ३ थान पावर टिलर कृषक समूहलाई, ९ एच.पी. क्षमताका ९३ थान मिनी टिलर कृषक, कृषक समूह, कृषि फार्म तथा कृषि सहकारीलाई तथा ३ थान रिपर कृषि फार्म तथा कृषक समूहलाई वितरण गरेको जनाएको छ ।
नगरपालिकाका अनुसार कृषि यान्त्रिकीकरण कार्यक्रमले किसानहरूको श्रम, समय तथा उत्पादन लागत घटाउनुका साथै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । आधुनिक कृषि प्रविधिको प्रयोगलाई विस्तार गर्दै कृषिलाई अझ प्रतिस्पर्धी, उत्पादनमुखी र आत्मनिर्भर बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।
कोहलपुर नगरपालिकाले आगामी दिनमा पनि किसानमैत्री कार्यक्रमलाई निरन्तरता दिँदै आधुनिक कृषि प्रणालीको विकास, उत्पादन वृद्धि तथा किसानको आयआर्जनमा टेवा पुर्याउने योजनालाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।
नगरपालिकाले “समृद्ध किसान, आधुनिक कृषि र आत्मनिर्भर कोहलपुर” निर्माणको लक्ष्यलाई साकार पार्न कृषि क्षेत्रमा आवश्यक सहयोग, प्रविधि विस्तार तथा यान्त्रिकीकरणलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

