एजेन्सी । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत अन्तिम-१६ चरणका पहिलो चार खेल सम्पन्न हुँदा फ्रान्स, मोरक्को, नर्वे र इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेका छन । रोमाञ्चक प्रतिस्पर्धाबीच चारै टोलीले प्रभावशाली प्रदर्शन गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन ।
पहिलो खेलमा मोरक्कोले क्यानडामाथि ३-० को सहज जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गर्यो । अर्को खेलमा फ्रान्सले पाराग्वेलाई १-० ले पराजित गर्यो । फ्रान्सको जितमा कप्तान किलियन एमबाप्पेको निर्णायक गोल पर्याप्त बन्यो ।
यस्तै, प्रतियोगिताको अर्को ठूलो उलटफेरमा नर्वेले पाँचपटकको विश्व विजेता ब्राजिललाई २-१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ । एर्लिङ हालान्डले दुई गोल गर्दै नर्वेको ऐतिहासिक जित दिलाए ।
आयोजक मेक्सिकोविरुद्धको रोमाञ्चक खेलमा इङ्ग्ल्यान्डले ३-२ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको छ । प्रतिस्पर्धात्मक खेलमा इङ्ग्ल्यान्डले अग्रता जोगाउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
अब अन्तिम-१६ अन्तर्गत बाँकी चार खेल जुलाई ७ र ८ मा हुनेछन । पोर्चुगल र स्पेन, अमेरिका र बेल्जियम, अर्जेन्टिना र इजिप्ट तथा स्विट्जरल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ । यी खेलका विजेताले क्वार्टरफाइनलमा स्थान बनाउनेछन ।
यसअघि क्वार्टरफाइनलका दुई खेल तय भइसकेका छन । फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ भने नर्वेले इङ्ग्ल्यान्डको सामना गर्नेछ । बाँकी दुई क्वार्टरफाइनल खेल अन्तिम १६ का बाँकी खेलको नतिजापछि तय हुनेछन ।

