काठमाडौं । नेपाल मेडिकल काउन्सिलको नियमित अनुगमनका क्रममा गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका-८ स्थित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीय चेतन एम. (पोखरेल) लाई पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई तथा मान्यता प्राप्त चिकित्सकको उपाधि प्रयोग गर्दै बिरामीहरूको आधुनिक चिकित्सा पद्धतिबाट उपचार गरिरहेको पाइएको सीआईबीले जनाएको छ साथै बिरामीलाई औषधि सिफारिस गरिएको प्रिस्क्रिप्सनसमेत फेला परेपछि थप अनुसन्धान अघि बढाइएको बताइएको छ ।
नेपाल मेडिकल काउन्सिलबाट प्राप्त उजुरी र छानबिन प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबीको टोलीले उनलाई चन्द्रागिरिबाट नियन्त्रणमा लिएको हो ।
हाल पक्राउ परेका चेतन एम. (पोखरेल) माथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ‘इलाज सम्बन्धी कसुर’ मा थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

