संवेग न्यूज
ट्रेण्डिङ

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ७ करोड ५१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पुर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उपप्रमुख संगिता सुवेदीले बजेट सार्वजनिक गरिन । बजेटले शिक्षा, स्वास्थ्य, सामाजिक विकास, कृषि र पुर्वाधारलाई प्राथमिकतामा राखेको दाबी गरे पनि यसको भित्री संरचनाले नगरको वास्तविक चुनौती विकास विस्तारभन्दा पुराना दायित्व व्यवस्थापन रहेको संकेत गरेको छ ।

“हरित, संगमस्थल हाम्रो शहर : सुन्दर, समृद्ध कोहलपुर नगर” भन्ने दीर्घकालीन लक्ष्यसहित ल्याइएको बजेटले नयाँ योजनाभन्दा आर्थिक अनुशासन, स्रोत व्यवस्थापन र अधुरा योजनाको निरन्तरतामा बढी जोड दिएको देखिन्छ ।

विकासको गति सुस्त, दायित्वको बोझ भारी

गत आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले ९८ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको थियो  तर खर्च भने ९२ करोड ७४ लाख रुपैयाँ मात्र भयो । आम्दानी लक्ष्यको ८७.५५ प्रतिशत र खर्च ८२.८२ प्रतिशतमा सीमित रहनुले योजनाको कार्यान्वयन क्षमता अझै कमजोर रहेको देखाउँछ ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा पनि जेठ मसान्तसम्म पुँजीगत खर्च ५९.४४ प्रतिशत र चालु खर्च ६३.३५ प्रतिशत मात्र भएको तथ्यांक सार्वजनिक भएको छ । यही कारण आगामी बजेटको उल्लेख्य हिस्सा नयाँ विकासभन्दा पुराना प्रतिबद्धता पुरा गर्न खर्च हुने अवस्था देखिएको छ ।

पुर्वाधार विकासका लागि विनियोजन गरिएको १६ करोड ८० लाख रुपैयाँमध्ये ६ करोड रुपैयाँ त चालु वर्षमा सम्पन्न भई भुक्तानी हुन नसकेका योजनाकै लागि छुट्याइएको छ । बहुवर्षीय योजनाका लागि २ करोड र संघ-प्रदेशसँग साझेदारी हुने आयोजनाका लागि ४ करोड रुपैयाँ राखिएको छ ।

शिक्षामा सबैभन्दा ठूलो लगानी

समग्र बजेटमा सबैभन्दा बढी प्राथमिकता शिक्षा क्षेत्रले पाएको छ । शिक्षा क्षेत्रमा ११ करोड ६७ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

स्मार्ट कक्षा, प्रविधिमैत्री शिक्षण, वातानुकूलित सिकाइ वातावरण, ई-लाइब्रेरी स्थापना, प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता तथा शिक्षक क्षमता विकासका कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ । ९६.८५ प्रतिशत साक्षरता दर हासिल गरिसकेको कोहलपुरले अब विद्यालयको पहुँचभन्दा शिक्षाको गुणस्तर सुधारलाई लक्ष्य बनाएको देखिन्छ ।

स्वास्थ्यमा प्रतिबद्धता, बजेटमा सीमितता

स्वास्थ्य क्षेत्रका लागि १ करोड १७ लाख १९ हजार रुपैयाँ विनियोजन गरिएको छ । नगर अस्पतालमार्फत निःशुल्क औषधि वितरण, पाठेघरको क्यान्सर परीक्षण, नसर्ने रोग नियन्त्रण, आयुर्वेद सेवा र सिकलसेल एनिमिया व्यवस्थापनजस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

गत वर्ष ३ हजार ३२९ जनाको स्वास्थ्य परीक्षण र ३७२ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको विवरण प्रस्तुत गरिए पनि समग्र बजेटको अनुपातमा स्वास्थ्य क्षेत्रको हिस्सा निकै सानो देखिन्छ ।

आर्थिक विकासमा न्यून प्राथमिकता

नगरपालिकाले आर्थिक विकास शीर्षकमा मात्र १ करोड ५४ लाख ४२ हजार रुपैयाँ विनियोजन गरेको छ, जुन कुल बजेटको करिब २ प्रतिशत मात्र हो ।

उद्यमशीलता विकास, रोजगारी प्रवर्द्धन, श्रम संसार अनलाइन पोर्टल, कृषि यान्त्रीकरण, किसान सुचीकरण र पशु सुत्केरी भत्ताजस्ता कार्यक्रम समेटिए पनि उत्पादनमुलक क्षेत्रलाई अपेक्षित महत्व दिन नसकिएको टिप्पणी हुन थालेको छ ।

कृषिमा गत वर्ष ९१ मिनिटिलर, १५ पावर टिलर र ३ रिपर वितरण गरिएको भए पनि त्यसको प्रभावकारिता र विस्तार अझै चुनौतीकै रूपमा रहेको छ ।

सामाजिक न्यायमा जोड

सामाजिक विकासतर्फ १३ करोड ६२ लाख ५८ हजार रुपैयाँ छुट्याइएको छ । महिला, दलित, जनजाति, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

बालविवाह न्युनीकरण, लागुऔषध दुव्र्यसन नियन्त्रण, किशोरी आत्मरक्षा तालिम, दिवा सेवा केन्द्र सहयोग र सहायक सामग्री वितरण कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

हरित कोहलपुरको नारा, वातावरणमा न्यून बजेट

नगरपालिकाले ‘हरित कोहलपुर’ अभियानलाई प्राथमिकतामा राखेको दाबी गरे पनि वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि जम्मा ५२ लाख रुपैयाँ मात्र विनियोजन गरेको छ ।

वृक्षारोपण, नगर सौन्दर्यीकरण, विपद् तालिम र ट्राफिक सचेतना कार्यक्रम समेटिए पनि जलवायु परिवर्तन र प्राकृतिक विपद्को बढ्दो जोखिमका सन्दर्भमा यो बजेट पर्याप्त नदेखिएको सरोकारवालाहरूको बुझाइ छ ।

प्रशासनमै २६ करोड

बजेटको अर्को महत्वपुर्ण पक्ष प्रशासनिक खर्च हो । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि मात्र २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै सामाजिक सुरक्षा कोषका लागि ८५ लाख र नयाँ बसपार्क निर्माणका लागि लिइएको ऋणको किस्ता भुक्तानी गर्न ७५ लाख रुपैयाँ राखिएको छ । यसले नगरपालिकाको स्रोतको ठूलो हिस्सा सेवा प्रवाह र प्रशासनिक दायित्वमै खर्च हुने अवस्था देखाएको छ ।

जनप्रतिनिधिका सुझाव

नगरसभामा वडा नं. ११ की कल्पना अधिकारी शर्मा, वडा नं. ८ का लालबहादुर राना, वडा नं. ५ का अध्यक्ष दिपेन्द्र श्रेष्ठ, वडा नं. १ का अध्यक्ष बद्रीनाथ सापकोटा, वडा सदस्य कविराम पुलामी, वडा नं. १० का सदस्य भिम पौडेल तथा वडा नं. १३ की सदस्य गोमा कुमारी खनालले बजेट कार्यान्वयन, विकास प्राथमिकता र नागरिक सहभागिताका विषयमा सुझाव प्रस्तुत गरेका थिए ।

निष्कर्ष

कोहलपुरको आगामी बजेटले शिक्षा, सामाजिक विकास र पूर्वाधारलाई प्राथमिकता दिएको देखिए पनि यसको मुल चुनौती विकासभन्दा वित्तीय व्यवस्थापन र पुराना दायित्वको सम्बोधन रहेको स्पष्ट हुन्छ। सीमित आन्तरिक आय, सुस्त पुँजीगत खर्च र बढ्दो प्रशासनिक भारबीच नगरपालिकाले घोषणा गरेका महत्वाकांक्षी कार्यक्रमहरू व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् भन्ने प्रश्न आगामी वर्षको मुख्य परीक्षण बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech