काठमाडौं, असार ९ – वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-७ मा बस्दै आएका बारा निजगढ नगरपालिका-१३ घर भएका ४९ वर्षीय सुरेश गिरी र ललितपुर महालक्ष्मी नगरपालिका-१ मा बस्दै आएका संखुवासभा चैनपुर नगरपालिका-३ घर भएका ७० वर्षीय वीरबहादुर श्रेष्ठ रहेका छन ।
प्रहरीका अनुसार सुरेश गिरीले एक जना व्यक्तिलाई टर्की पठाइदिने भन्दै १ लाख ९० हजार रुपैयाँ ठगी गरेका थिए । त्यसैगरी वीरबहादुर श्रेष्ठले बेलायत पठाइदिने आश्वासन दिएर अर्का एक पीडितबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुरेशलाई काठमाडौं महानगरपालिका-१२ बाट तथा वीरबहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-१ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सचेत रहन र आधिकारिक प्रक्रिया अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

