नेपालगञ्ज, असार ८ – सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सुर्खेत प्रहरीले पक्राउ गरेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई आज राति नेपालगञ्जस्थित प्रहरीको कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने भएको छ ।
प्रहरी स्रोतका अनुसार उनलाई सुर्खेतबाट स्थलमार्ग हुँदै नेपालगञ्ज ल्याइँदै गरिएको छ । नेपालगञ्ज विमानस्थलमा राति पार्किङ हुने विमानको उपलब्धता हेरेर भोलि बिहानको पहिलो उडानमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ ।
स्रोतका अनुसार आज राति नेपालगञ्ज विमानस्थलमा कुन विमान रात्रिकालीन पार्किङमा रहने भन्ने टुंगो लागेपछि सोही विमानको पहिलो उडानबाट पौडेललाई काठमाडौं पठाइनेछ । काठमाडौं पुर्याएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।
नेपालगञ्जस्थित प्रहरी स्रोतले पौडेल हाल नेपालगञ्ज आउने क्रममा रहेको र सुरक्षा व्यवस्थासहित उनलाई कर्णाली प्रदेश तालिम केन्द्रमा राख्ने तयारी गरिएको जानकारी दिएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका उच्च राजनीतिक पदाधिकारीमध्ये पौडेल पछिल्लो समय चर्चाको केन्द्रमा रहेका छन । प्रहरीले भने घटनासम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ ।

