काठमाडौं । Nepal Medical Council (एनएमसी) ले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र चिकित्सकहरूको कानुनी दायित्व सम्बन्धी महत्वपूर्ण विज्ञप्ति जारी गर्दै मापदण्डविपरीत सञ्चालन भइरहेका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूलाई सचेत गराएको छ ।
काउन्सिलले केही स्वास्थ्य संस्थाहरूले स्वीकृत बेड क्षमता, सेवा क्षेत्र तथा सञ्चालन अनुमति भन्दा बाहिर गएर सेवा सञ्चालन गरिरहेको जानकारी प्राप्त भएको जनाएको छ । साथै, कतिपय चिकित्सकहरू पनि संस्थाको वास्तविक कानुनी अवस्था नबुझी वा आवश्यक जानकारी नलिई सेवा प्रवाहमा संलग्न रहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
विज्ञप्तिअनुसार, जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा स्वास्थ्य संस्था सञ्चालन मापदण्डविपरीत सञ्चालन भएका संस्थाको इजाजतपत्र स्वतः खारेज हुन सक्ने व्यवस्था रहेको छ । यस्ता संस्थामा कार्यरत चिकित्सकहरू समेत कानुनी तथा नैतिक जवाफदेहिताको दायरामा पर्न सक्ने काउन्सिलले चेतावनी दिएको छ ।
काउन्सिलले सम्पूर्ण चिकित्सकहरूलाई कुनै पनि स्वास्थ्य संस्थामा आबद्ध हुनुअघि सो संस्थाको स्वीकृत बेड संख्या, सञ्चालन अनुमति पत्र तथा कानुनअनुसार स्वीकृत सेवाहरूको विवरण अनिवार्य रूपमा बुझ्न आग्रह गरेको छ साथै, नियुक्ति लिनुअघि संस्थाको नवीकरण प्रमाणपत्र र सेवा सञ्चालनको वैधानिक अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरेको छ ।
एनएमसीले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, पारदर्शी, मर्यादित र कानुनसम्मत बनाउन सबै चिकित्सक तथा स्वास्थ्य संस्थाको सहयोग आवश्यक रहेको जनाएको छ ।


