दाङ, असार २ गते – दाङको तुलसीपुर उपमहानगरपालिका-२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर सामाजिक सञ्जालमा युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गरेपछि लागुऔषधसहित पक्राउ परेका छन ।
प्रहरीका अनुसार मगरले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डरधम्की दिँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उक्त भिडियोको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई मिति २०८३ असार २ गते आफ्नै घरबाट पक्राउ गरेको हो ।
पक्राउका क्रममा प्रहरीले उनको साथबाट प्रेगामाक्स (Pregamax) १ ट्याब्लेट, ट्रोमो (Trohmo) ४१ ट्याब्लेट, एन्टीकोप(Antikop) २ ट्याब्लेट र नाइट्राजेपाम (Nitrazohm) ५ ट्याब्लेट बरामद गरेको जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार कुटपिटमा परेकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

