असार- ०१, कोहलपुर, बाँके । कोहलपुर नगरपालिका-६ मा रहेको बी. भी. एम. सेकेण्डरी स्कुलले कक्षा ११ मा विज्ञान (science) तथा व्यवस्थापन (management) संकायमा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नेपालगञ्जस्थित होटल डाइमण्ड प्यालेसमा भव्य रूपमा आयोजना गरिएको थियो ।
विद्यालयका प्राध्यापक वीरभान के. सी. को सभापतित्व तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष गोविन्द सुवेदी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन कोअर्डिनेटर मित्रलाल वलीले गरेका थिए भने सह-प्राध्यापक उमेश चौधरीसहित अन्य शिक्षकहरूको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष गोविन्द सुवेदीले बी.भी.एम. सेकेण्डरी स्कुलले परम्परागत घोकन्ते शिक्षाभन्दा फरक शैली अपनाएर सीपमूलक, व्यवहारिक र प्रविधिमैत्री शिक्षामा जोड दिएको बताए । विद्यालयमा अत्याधुनिक विज्ञान प्रयोगशाला, स्मार्ट बोर्डमार्फत अध्यापन, डिजिटल सिकाइ प्रणाली तथा विद्यार्थी केन्द्रित शिक्षण पद्धति अवलम्बन गरिएको उनले जानकारी दिए ।
कोहलपुर क्षेत्रकै उत्कृष्ठ शैक्षिक संस्थामध्ये एक मानिने वी. भी.एम. सेकेण्डरी स्कुलले विगतका वर्षहरूमा उत्कृष्ठ नतिजा हासिल गर्दै आएको छ। विद्यालयले एसईई परीक्षामा जिल्ला टपर उत्पादन गरेर आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरिसकेको छ। गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, अनुभवी शिक्षक टोली तथा नियमित शैक्षिक परामर्शका कारण विद्यालय अभिभावकहरूको पहिलो रोजाइ बन्दै गएको छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले विद्यालयको शैक्षिक वातावरण, आधुनिक शिक्षण प्रणाली तथा शिक्षकहरूको सहयोगी भूमिकाको प्रशंसा गरेका थिए। कक्षा शिक्षकमार्फत नियमित मार्गदर्शन, अतिरिक्त समयमा समेत शैक्षिक सहयोग तथा करियर काउन्सिलिङ उपलब्ध हुने भएकाले अध्ययनलाई अड़ा प्रभावकारी बनाउन सहज भएको उनीहरूको भनाइ थियो।
विद्यालयले शैक्षिक उपलब्धिसँगै विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता, रचनात्मक सोच तथा नैतिक शिक्षामा समेत विशेष ध्यान दिँदै आएको जनाएको छ। अभिमुखीकरण कार्यक्रम मार्फत नवप्रवेशी विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक नीति, अध्ययन प्रणाली, अनुशासन तथा भविष्यका अवसरबारे जानकारी गराइएको थियो।
विद्यालय प्रशासनले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीजाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

