काठमाडौं, ८ वैशाख – राजधानीको सडक अनुशासन कडाइसँगै ट्राफिक कारबाहीबाट उल्लेख्य राजस्व संकलन भएको छ । पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले विभिन्न उल्लङ्घनमा संलग्न ३ हजार ५ सयभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीबाट २५ लाख १५ हजार ५०१ रुपैयाँ राजस्व उठेको छ । ट्राफिक नियम उल्लङ्घनका विविध शीर्षकमध्ये सबैभन्दा बढी ‘अन्य’ शीर्षकमा २ हजार ७४७ जना चालक कारबाहीमा परेका छन जसले सडकमा अझै पनि व्यापक लापरबाही रहेको संकेत गर्छ ।
त्यसैगरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७७ जना, रातो बत्ती उल्लङ्घन गर्ने १५८ जना, लेन मिच्ने १७२ जना र तीव्र गतिमा सवारी चलाउने ८९ जना चालक पनि कारबाहीमा परेका छन । साना देखिने तर जोखिमपुर्ण व्यवहार-जस्तै ढोका खुल्ला राख्ने, नो हर्न क्षेत्र उल्लङ्घन गर्ने तथा यात्रु चढाउने-ओराल्ने क्रममा लापरबाही गर्ने चालकहरू पनि निगरानीबाट उम्किन सकेनन ।
ट्राफिक प्रहरीले पछिल्ला दिनमा निगरानी र कडाइ बढाउँदै लगेपछि कारबाहीको संख्या उच्च देखिएको हो । अधिकारीहरूका अनुसार यो अभियानले सडक सुरक्षा सुधार गर्ने लक्ष्य लिएको छ, तर तथ्याङ्कले चालकहरूमा अझै नियम पालनाको चेतनामा कमी रहेको देखाउँछ । प्रहरीले नियम उल्लङ्घनमा शुन्य सहनशीलता नीति अपनाउने संकेत दिँदै चालकहरूलाई सतर्क रहन आग्रह गरेको छ ।

