काठमाडौं, ४ वैशाख २०८३-देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २४ जना पक्राउ परेका छन । प्रहरीका अनुसार बिहीबार र शुक्रबार विभिन्न जिल्लामा सञ्चालन गरिएको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन । काठमाडौंको टोखा नगरपालिका-८ बानियाटारबाट ब्राउनसुगर जस्तो देखिने ७ ग्राम ७३० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका-१५ घर भएका २५ वर्षीय रोहित महरा लगायत रहेका छन ।
भक्तपुर नगरपालिका-१० भत्केकोपाटीबाट ट्रामाडोल ५९८ ट्याब्लेट र स्पास्पेन ५ ट्याब्लेटसहित २७ वर्षीय राजु थिङ पक्राउ परेका छन । कञ्चनपुरको बेलौरी नगरपालिका-८ बाट खैरो हेरोइन जस्तो देखिने ६ ग्राम ३२० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन । उनीहरू मोटरसाइकलमा सवार अवस्थामा फेला परेका थिए ।
कैलाली जिल्लाका विभिन्न स्थानबाट पनि लागुऔषधसहित चार जना पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका २ र ३ तथा गोदावरी नगरपालिकाबाट ब्राउनसुगर र खैरो हेरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो । चितवनको रत्ननगर नगरपालिका-११ बाट ट्रामाडोल २,६१० ट्याब्लेट र एनारगन १,८१० ट्याब्लेटसहित २२ वर्षीय सुशान्त गुरुङ पक्राउ परेका छन ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ बाट ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन । झापाको कनकाई नगरपालिका-३ सुरूङगा र टप्पु चोक क्षेत्रबाट ब्राउनसुगरसहित सात जना पक्राउ परेका छन । मोरङको विराटनगर महानगरपालिका-११ स्थित पारस अस्पताल अगाडिबाट ठूलो परिमाणमा खैरो हेरोइन (१०० ग्रामभन्दा बढी) सहित दुई जना पक्राउ परेका छन । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट बस जाँचका क्रममा ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन । दाङको राप्ती गाउँपालिका-१ बाट ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन ।
प्रहरीले सबै घटनामा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

