उदयपुर, स्याङ्जा, २ वैशाख-प्रहरीले अवैध भरूवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । उदयपुरमा गोली प्रहारबाट दुई जना घाइते भएका छन भने स्याङ्जामा घरमै लुकाइ राखिएको बन्दुक बरामद गरिएको छ ।
उदयपुरगढी गाउँपालिका-६ चिपचपेका ३५ वर्षीय गुन्सुरे राईलाई भरूवा बन्दुकसहित मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको हो । उनले छिमेकी २० वर्षीय अरूण राई र उनकी श्रीमतीमाथि गोली प्रहार गर्दा दुवै जना घाइते भएका छन ।
घटनापछि सुचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको जनाएको छ । घाइते अरूण राईलाई स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ भने उनकी श्रीमतीको अवस्था सामान्य रहेको बताइएको छ ।
यसैगरी, स्याङ्जाको विरूवा गाउँपालिका-७ चित्लाङका ४६ वर्षीय केश बहादुर गुरूङलाई पनि एकनाले भरूवा बन्दुकसहित पक्राउ गरिएको छ । उनको घरमा अवैध रूपमा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको प्रहरीले घर तलासी गर्दा बन्दुक बरामद गरेको हो । प्रहरीले दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

