चैत ३० – देशका विभिन्न जिल्लाबाट प्रहरीले अवैध लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह क्षेत्रबाट मात्रै तीन जनालाई खैरो हेरोइन र नाइट्राजेपामसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २४ वर्षीय सुदिप रैदास, ३२ वर्षीय हिरा लाल सुनार र २७ वर्षीय किरण बुढा रहेका छन । उनीहरू भारतको रूपैडिहाबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ परेका हुन । यस्तै, मकवानपुरगढी गाउँपालिका-६ सोल्टीमोडबाट करिब २.५ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरू हेटौंडातर्फ जाँदै गरेको मोटरसाइकलमा सवार थिए ।
तेसैगरी गौरीगंज गाउँपालिका, झापाबाट ब्राउनसुगर र गाँजासहित दुई जना पक्राउ परेका छन भने गौरादह नगरपालिका क्षेत्रबाट थप तीन जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ भने सिराहाको धनगढीमाई नगरपालिका-१० जिरोमाइलबाट करिब १९ किलोभन्दा बढी गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । अटोमा लुकाएर गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
दाङको घोराही-१२ हापुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन भने कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिका क्षेत्रमा पनि लागुऔषधसहित तीन जना पक्राउ परेका छन ।
यसैगरी, सुनसरीको ईनरूवा नगरपालिका-४ बसचोकबाट ब्राउनसुगरसहित एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

