काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन । प्रहरीले बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ४५ वर्षीय राजेन्द्र खड्कालाई सोमबार नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै निवास क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । खड्काले मकाउ पठाइदिने भन्दै एक जना पीडितबाट ३ लाख ८३ हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको आरोप छ ।
पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्कालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीबाट सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

