कोहलपुर । पश्चिम नेपालको खेलकुद क्षेत्रमा पहिचान बनाएको ‘कोहलपुर गोल्डकप’ को चौथो संस्करणको तयारी लगभग पूरा भएको छ । आगामी वैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता कोहलपुर–२ स्थित तेह्रबिघा खेलमैदानमा आयोजना गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यसपटकको प्रतियोगितामा ए डिभिजनका ३ वटा क्लब, २ वटा विदेशी टोली, मोफसलका २ वटा क्लब र १ आयोजक टोली गरी कुल ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताले क्षेत्रीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ तथा उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितालाई थप आकर्षक बनाउन खेलसँगै पर्यटन प्रवर्द्धनमा पनि जोड दिइएको छ । फाइनल हेर्न आउने दर्शकलाई बाँके राष्ट्रिय निकुञ्जसहित स्थानीय सांस्कृतिक तथा खानपानको अनुभव गराउने योजना समेत आयोजकले बनाएको छ ।
यस संस्करणलाई व्यवस्थित, आकर्षक र व्यावसायिक बनाउन व्यवस्थापन तथा मार्केटिङको जिम्मा इश्वी युनाइटेड प्रा.लि.लाई दिइएको आयोजकले जानकारी दिएको छ ।
आयोजकले विगतका तीन संस्करणको सफलतापछि यसपटक खेलकुदलाई पर्यटनसँग जोड्दै नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको जनाएको छ । खेल तालिका तथा मुख्य प्रायोजक सम्बन्धी थप विवरण छिट्टै सार्वजनिक गरिने बताइएको छ ।

