कोहलपुर, बाँके — कोहलपुर तथा बैजनाथ क्षेत्रका केही स्थानमा “निःशुल्क जग्गा दिलाइदिन्छु” भन्दै सर्वसाधारणबाट फाराम भराउने र रकम असुल्ने घटनाहरू बढ्दै गएको भन्दै स्थानीयवासीलाई सचेत रहन आग्रह गरिएको छ ।
दलित–सुकुम्बासी बस्ती व्यवस्थापनको नाममा अनधिकृत रूपमा फाराम भराएको आरोपमा अजय बैगारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय (ईप्रका) कोहलपुरले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
घटनापछि ईप्रका कोहलपुर अगाडि केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। स्थानीयले घटनाबारे स्पष्ट जानकारी माग गर्दै विरोध जनाएका थिए ।
प्रहरीका अनुसार निःशुल्क जग्गा उपलब्ध गराइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई भ्रममा पार्ने गतिविधिबारे थप अनुसन्धान भइरहेको छ । यस्ता गतिविधिबाट सचेत रहन र कुनै पनि शंकास्पद व्यक्तिबाट फाराम भर्न वा रकम दिनुअघि आधिकारिक निकायसँग बुझ्न प्रहरीले आग्रह गरेको छ ।
स्थानीय सरोकारवालाहरूले पनि ‘निःशुल्क जग्गा’को नाममा फैलिएको हल्ला र ठगीबाट बच्न सबैलाई सावधान रहन अपिल गरेका छन् ।

