२९ मंसिर, काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रणालीमै पहुँच दुरुपयोग गर्दै व्यक्तिगत विवरण हेरफेर गरिएको घटनामा सरकारी कर्मचारीसहित दुई जना अनुसन्धानको दायरामा आएका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत २८ वर्षीय सुनित रेग्मी र ललितपुर बसोबास गर्दै आएका गोरखा नगरपालिका–१० का २८ वर्षीय आशिष बाबु कुमाललाई पक्राउ गरेको हो ।
प्रहरी अनुसन्धान अनुसार उनीहरूले गलत उद्देश्य राखी पञ्जीकरण विभागको युजर आईडी र पासवर्ड प्रयोग गर्दै नागरिकको विवरण परिवर्तन गरी राष्ट्रिय परिचयपत्र एप्रुभ गरेका थिए। यसलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनको दफा ४१ अनुसार गम्भीर कसुर मान्दै अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ भने घटनाको विस्तृत पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

