२९ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आन्तरिक माग–आपूर्तिको प्रभावसँगै नेपाली बजारमा सुन–चाँदीको मूल्य निरन्तर उकालो लागेको छ । सोमबार सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाउँदा सर्वसाधारण उपभोक्ता थप मारमा परेका छन् भने लगानीकर्ताहरूमा भने उत्साह देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो। यसअघि आइतबार २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनले असोज ३१ गते कायम भएको पुरानो रेकर्डसमेत तोडेको थियो ।
लगातार बढ्दो मूल्यका कारण विवाह, चाडपर्व तथा धार्मिक प्रयोजनका लागि सुन खरिद गर्ने उपभोक्ताहरू अन्योलमा परेका छन् । व्यवसायीहरूका अनुसार मूल्य महँगो हुँदा कारोबारमा समेत कमी आउन थालेको छ ।
यता चाँदीको मूल्य पनि उकालो यात्रामै छ। सोमबार चाँदी प्रतितोला ४५ रुपैयाँले बढ्दै ३ हजार ८७० रुपैयाँ पुगेको छ। यद्यपि, चाँदीले यसअघि गत शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाइसकेको छ ।
विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन सुरक्षित लगानीको रूपमा आकर्षण बढ्नु, डलरको मूल्य र भूराजनीतिक तनावजस्ता कारणले निकट भविष्यमा पनि सुन–चाँदीको मूल्य उच्च नै रहन सक्ने संकेत देखिएको छ ।

