काठमाडौं, असार २२- प्रहरीले महोत्तरी र पर्साका छुट्टाछुट्टै स्थानबाट करिब ५ सय ८९ किलो अवैध लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
महोत्तरीको एकडारा गाउँपालिका-१ भटौलियामा ना .३ ख ६५९२ नम्बरको ट्रक जाँच गर्ने क्रममा ४० किलो ३६० ग्राम गाँजा बरामद भएपछि चालक मकवानपुर कैलाश गाउँपालिका-६ भकुण्डेका २१ वर्षीय विपस नेगी र ट्रकमा सवार सोही गाउँपालिका-१ क्यूरेनीका २४ वर्षीय साधुराम थिङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले ट्रकमा रहेको थप गाँजा महोत्तरी गाउँपालिका-४ रानी रतवडास्थित एक घरमा झारेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले उक्त घरमा आइतबार बिहान खानतलासी गरेको थियो । खानतलासीका क्रममा ३५ वटा प्लास्टिकका पोकामा लुकाइछिपाइ राखिएको थप ४ सय ४६ किलो ७ सय ४५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उक्त घर महोत्तरी गाउँपालिका-४ की ४२ वर्षीया लिलम देवीको रहेको प्रहरीले जनाएको छ ।
यस्तै, पर्साको जगरनाथपुर गाउँपालिका-२ स्थित भित्री इनर्वा जाने चोकबाट प्रहरीले १ सय २ किलो ६ सय ३८ ग्राम गाँजासहित भारतको बिहार राज्य, बेतिया नवलपुरका ३२ वर्षीय गुडु बर्मालाई आइतबार राति पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले सोनवर्षाबाट भारततर्फ जाँदै गरेको बीआर ०१ सियू ३५४४ नम्बरको कार जाँच गर्ने क्रममा १० वटा पोकामा लुकाइछिपाइ राखिएको गाँजा बरामद गरेको हो ।
पक्राउ परेका गुडु बर्मा कारका चालक हुन । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

