काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मातहतका निकायमा कार्यरत कर्मचारीहरूका लागि नयाँ आचारसंहिता जारी गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र अनुशासित बनाउने लक्ष्य अघि सारेको छ ।
बुधबार सार्वजनिक गरिएको उक्त आचारसंहिताले कर्मचारीहरूलाई संविधान तथा प्रचलित कानुनको पूर्ण पालना गर्न निर्देशन दिएको छ । साथै, तोकिएको समयमै नियमित रूपमा कार्यालय उपस्थित हुनुपर्ने र पुर्वस्वीकृति बिना अनुपस्थित नहुनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ । मन्त्रालयले ड्रेसकोडमा समेत कडाइ गरेको छ । कर्मचारीहरूले कार्यालयमा रहँदा तथा प्रतिनिधित्व गर्दा निर्धारित पोशाक अनिवार्य रूपमा लगाउनुपर्नेछ भने परिचयपत्र देखिने गरी राख्नुपर्नेछ ।
कार्यसम्पादनलाई चुस्त बनाउन, कर्मचारीहरूले आफ्नो जिम्मामा आएका कामहरू सकेसम्म सोही दिन वा भोलिपल्टसम्म सम्पन्न गर्नुपर्नेछ । कुनै ढिलाइ हुने अवस्था आएमा सम्बन्धित सुपरीवेक्षकलाई समयमै जानकारी गराउनुपर्ने प्रावधान राखिएको छ । साथै, कुनै फाइल, पत्र वा निर्णय सुरु गर्ने कर्मचारीले त्यसको नियमित ट्र्याकिङ र फलोअप गर्नुपर्नेछ ।
आचारसंहिताले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन जोड दिँदै कर्मचारीहरूले आफ्नो जिम्मेवारी छिटो, प्रभावकारी र पुर्ण रूपमा निर्वाह गर्नुपर्ने उल्लेख गरेको छ । सेवा लिने क्रममा वृद्ध, अशक्त, अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला, बालबालिका र असहायलाई प्राथमिकता दिनुपर्ने व्यवस्था पनि गरिएको छ ।
त्यसैगरी, कार्यालय परिसर सफा राख्ने, स्रोतसाधनको मितव्ययी र प्रभावकारी प्रयोग गर्ने जस्ता विषयलाई पनि आचारसंहितामा समेटिएको छ । मन्त्रालयले उक्त आचारसंहिताप्रति कर्मचारीहरूबाट प्रतिबद्धता समेत लिएको जनाएको छ ।

