काठमाडौं, २६ चैत – प्रतिनिधिसभाको उपसभामुख पदका लागि यसपटकको प्रतिस्पर्धा फरक धारमा देखिएको छ । एकातिर नयाँ र उदाउँदो राजनीतिक शक्तिहरूबीच सहकार्यको संकेत देखिएको छ भने अर्कोतिर परम्परागत धारका दलहरू पनि मैदानमा उत्रिएका छन ।
श्रम संस्कृति पार्टीबाट २५ वर्षीया रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन । उनलाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने निर्णय गरेको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार अहिलेको जनअपेक्षा अनुसार नयाँ शक्ति एकजुट हुनुपर्ने भन्दै यो समर्थन गरिएको हो ।
उनले भने जनताको चाहना अनुसार नयाँ र उदाउँदो पार्टीहरू एउटै धारमा उभिनुपर्छ भन्ने हाम्रो विश्वास हो । रास्वपाले सांसद अशोककुमार चौधरीलाई पनि समर्थन रहने जनाएको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने आफ्नै उम्मेदवार अघि सारेको छ । राप्रपाबाट सरस्वती लामा उपसभामुखको दौडमा छन । उनको प्रस्तावकमा दलका नेता ज्ञानेन्द्र शाही रहेका छन भने ताहिर अली, खुश्बु ओली र भरत गिरी समर्थकका रूपमा छन ।
यसरी हेर्दा उपसभामुखको निर्वाचन केवल पदको प्रतिस्पर्धा मात्र नभई नयाँ र पुराना राजनीतिक धारबीचको भिडन्तका रूपमा समेत विकसित हुँदै गएको देखिन्छ । संसदभित्रको शक्ति सन्तुलन र भावी राजनीतिक सहकार्यको संकेतका रूपमा समेत यो निर्वाचनलाई चासोका साथ हेरिएको छ ।

