ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीच आज (शनिबार) बिहान भेटवार्ता भएको छ।
त्यस क्रममा दुई जनाबीच राजनीतिक सहमतिका विषयमा कुराकानी भएको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरणका लागि संवाद गरिरहेका बालेनले बिहानै घिसिङसँग भेटवार्ता गरेका हुन्। त्यस क्रममा उनले रास्वपाबाट आएको प्रस्ताव र एकीकरणको मोडालिटीबारे घिसिङलाई ब्रिफिङ गरेका थिए।
जवाफमा कुलमानले भने, ‘अहिले हामी आन्तरिक छलफलमा छौँ, त्यसबाट निष्कर्ष निस्किएपछि निर्णय दिन्छु।’
कुलमान र बालेनबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो। स्रोतले भेटवार्ताको ठ्याक्कै स्थान खुलाउन भने चाहेन।
कुलमान र बालेनबीच केही दिनयता तीव्र रूपमा राजनीतिक संवाद जारी छ।
ऊर्जामन्त्री घिसिङ, मेयर बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एउटै पार्टी बनाउने प्रयास भइरहेको छ। तर अहिलेसम्म सहमति जुट्न सकेको छैन।
यसै क्रममा द्विपक्षीय, त्रिपक्षीय भेटवार्ता भइरहेका हुन्।
आगामी निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीजस्ता पुराना शक्तिलाई विस्थापित गर्न उनीहरूले नयाँ शक्तिबीच एकताको पहल गरिरहेका हुन्।

