काठमाडौं । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएको छ। अदालतको उक्त आदेशपछि रास्वपाले यसलाई राजनीतिक प्रतिशोध खारेज भएको निर्णयको रूपमा व्याख्या गरेको छ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले अदालतको आदेशले न्यायको अनुभूति गराएको भन्दै अब पार्टी स्वच्छ र जिम्मेवार राजनीतिलाई अघि बढाउने बताएका छन्।
‘अदालतको घेराभित्र राजनीतिक प्रतिशोध खारेज भएको छ। अब स्वच्छ राजनीति अगाडि बढाउँछौँ,’ महामन्त्री बुर्लाकोटीले प्रतिक्रिया दिँदै भने, ‘अदालतले न्याय दिएको छ। धरौटीबापतको बिगो रकम पहिला नै बुझाइसकेकाले आजै रिहा हुने अपेक्षा गरेका छौँ।’
उच्च अदालतको यस आदेशलाई रास्वपाले विधिको शासन र न्यायिक निष्पक्षताको जितका रूपमा लिएको छ। पार्टी नेतृत्वले आगामी दिनमा जनविश्वास सुदृढ गर्दै राजनीतिक सुधारको अभियानलाई अझ तीव्र बनाउने संकेत गरेको छ।
