काठमाडौँ । नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको नेतृत्व चयनको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओली समूहको स्पष्ट वर्चस्व देखिएको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्षदेखि सचिवसम्मका अधिकांश पदमा ओली प्यानलका उम्मेदवारहरू विजयी भएका छन् ।
अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रोपटक निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै पार्टी नेतृत्वमा आफ्नो प्रभाव पुनः पुष्टि गरेका हुन् ।
महाधिवेशनमा दुई समूहले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । अध्यक्ष ओलीको नेतृत्वमा रहेको प्यानल र वरिष्ठ नेता ईश्वर पोखरेलको नेतृत्वमा रहेको प्यानलबीच कडा प्रतिस्पर्धा भए पनि अन्तिम नतिजा ओली पक्षमै गएको देखिएको छ ।
पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्र विजयी भएका छन् । बाँकी अधिकांश पदमा ओली प्यानलकै उम्मेदवारहरूले बाजी मारेका छन् ।
सचिव पदमा भने सबै उम्मेदवारहरू ओली प्यानलकै निर्वाचित भएका छन् । यसले पार्टीको संगठनात्मक संरचनामा ओली समूहको पकड थप मजबुत बनेको विश्लेषण गरिएको छ ।
महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्दा पार्टीभित्रको आन्तरिक लोकतन्त्र अभ्यास भएको नेताहरूले बताएका छन् ।
अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित नेतृत्वले पार्टी एकता, संगठन सुदृढीकरण र आगामी राजनीतिक चुनौती सामना गर्न केन्द्रित हुने प्रतिबद्धता जनाएको छ । अध्यक्ष ओलीले महाधिवेशनपछि दिएको मन्तव्यमा सबै समूहलाई समेटेर पार्टीलाई अगाडि बढाउने बताएका छन् ।
महाधिवेशनको यो परिणामले आगामी राष्ट्रिय राजनीतिमा एमालेको दिशा र भूमिकालाई थप स्पष्ट बनाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
