काठमाडौं, २८ मंसिर । नेकपा एमालेभित्र नेतृत्व पुस्तान्तरणको बहस सतहमा आएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अभिव्यक्तिले अध्यक्ष केपी शर्मा ओलीको दीर्घकालीन भूमिकामाथि पुनर्विचार आवश्यक रहेको सन्देश दिएको छ।
महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै पोखरेलले ओलीले लामो समय पार्टी र सरकारको नेतृत्व गरिसकेको उल्लेख गर्दै अब मार्गदर्शक भूमिकामा रहनु उपयुक्त हुने संकेत गरे। ११ वर्ष पार्टी अध्यक्ष र ६ वर्ष प्रधानमन्त्री भइसकेको पृष्ठभूमिमा नयाँ नेतृत्व अघि सार्ने समय आएको उनको भनाइले एमालेभित्र जिम्मेवारी हस्तान्तरणको आवश्यकता औंल्याएको छ।
पोखरेलको भनाइलाई पार्टीभित्र नेतृत्वलाई संस्थागत बनाउने र आगामी पुस्तालाई अवसर दिनुपर्ने आवाजका रूपमा हेरिएको छ। उनले अध्यक्ष ओलीको योगदानको सम्मान गर्दै पार्टीलाई दीर्घकालीन रूपमा मजबुत बनाउन अभिभावकीय भूमिकामा रहने मोडेल उपयुक्त हुने धारणा राखे।
उनको यो अभिव्यक्तिले एमालेभित्र नेतृत्व संरचना, उत्तराधिकारी र पार्टीको भविष्य दिशाबारे बहसलाई थप तीव्र बनाएको छ।

