घोराही (दाङ), साउन ११ – दाङ प्रहरीले अवैध लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जनाको घरबाट ठुलो परिमाणमा नगद, ब्राउनसुगर र डिजिटल तराजु समेत बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतबार राति घोराही उपमहानगरपालिका-१५ न्युरोडबाट १२० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र १६ हजार रुपैयाँ नगदसहित घोराही-४ का २८ वर्षीय सुदिप चौधरी र घोराही-१३ की २० वर्षीया देवीका श्रेष्ठ पक्राउ परेका हुन । उनीहरूलाई वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गर्दा उक्त लागुऔषध घोराही-१८ ढोडेनी निवासी ४० वर्षीय महेन्द्र चौधरीबाट खरिद गरेको खुल्न आएको जनाएको छ ।
त्यसपछि प्रहरीले महेन्द्र चौधरीको घरमा खानतलासी गर्दा ७७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ, एक थान डिजिटल तराजु तथा ५ लाख ६८ हजार १७० रुपैयाँ नगद बरामद गरेको छ । बरामद सामग्रीसहित महेन्द्रलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

