सप्तरीमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) को झण्डा र ब्यानर जलाएर अश्लील अभिव्यक्ति दिएको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महादेवा गाउँपालिका–५ भगवतपुरमा एमालेको सूर्य चिन्ह अंकित झण्डा तथा फोटोसहितको ब्यानर जलाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। भिडियोमा एक व्यक्ति उत्तेजित हुँदै पार्टीविरुद्ध विभिन्न आरोप लगाउँदै अपशब्द प्रयोग गरेको देखिन्छ ।
अनुसन्धानका क्रममा उक्त घटनामा ३१ वर्षीय हरि नारायण मण्डलको संलग्नता खुलेपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो। उनलाई फागुन ८ गते साँझ महादेवा गाउँपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार फागुन ६ गते राति करिब ९ बजे भएको घटनासम्बन्धी सोधपुछका क्रममा मण्डलले भिडियोमा सुनिएको आवाज आफ्नै भएको र गालीगलौज गरेको स्वीकार गरेका छन्। उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा दर्ता गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय राजविराजबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता डम्बर बहादुर पुरीले जानकारी दिएका छन् ।
