बाँके क्षेत्र नं. १ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । यस पटक मतदाताको मनोभावना पुराना दाबी र अपूरा आश्वासनभन्दा अलग देखिएको छ । “आफूले नगरेको काम पनि मैले गरेको” भन्दै आम जनतामा भ्रमको खेती गर्ने नेताहरूप्रति असन्तुष्टि बढ्दै गएको स्थानीयहरू बताउँछन् ।
विगतका वर्षहरूमा दुई ठुला दलका नेताले पटक–पटक विकासका ठूला घोषणाहरू गरे पनि जनताको दैनिकीमा अपेक्षित परिवर्तन नदेखिएको गुनासो सुनिन्छ । सडक, रोजगारी, कृषि र सिँचाइका विषयमा धेरै भाषण भए, तर परिणाम भने सीमित रहेको भन्दै मतदाता अहिले विकल्प खोज्न थालेका छन् ।
स्थानीय युवाहरू भन्छन्, “अब भाषण होइन, परिणाम चाहियो। पुराना अनुहारले पुरानै शैली दोहोर्याए । अब नयाँ सोच र नयाँ नेतृत्व आवश्यक छ ।” यही सन्दर्भमा चुनाव चिन्ह “तारा” लिएर मैदानमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी प्रति आकर्षण बढ्दो देखिएको छ ।
जनताको धारणा अनुसार तारा लिएर आएको पार्टीले नयाँ योजना, स्थानीय आवश्यकताअनुसारको विकास अवधारणा र जवाफदेहिताको प्रतिबद्धता सार्वजनिक गरेकाले यस पटकको रोजाइ बन्न सक्ने सम्भावना बलियो देखिएको छ ।
विश्लेषकहरूका अनुसार बाँके क्षेत्र नं. १ मा परम्परागत दलप्रतिको असन्तोष र नयाँ विकल्पप्रतिको आकर्षणले चुनावी समीकरण बदल्न सक्ने संकेत देखिएको छ । अबको मत परिणामले जनताको परिवर्तनको चाहना कत्तिको बलियो छ भन्ने स्पष्ट पार्नेछ ।
