पुष ९, बाँके। बाँकेको नरैनापुर गाउँपालिका–२ स्थित आदर्श माध्यमिक विद्यालयको निर्माणाधीन भवन प्रांगण नजिकै रहेको खालि चौरमा पर्यटन सम्भावना र मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र मौलिक सांस्कृतिक पहिचानले भरिपूर्ण नरैनापुरमा रहेका दर्जनौँ पर्यटकीय स्थलहरू भविष्यका उज्याला सम्भावनाका आधार रहेको कार्यक्रममा उल्लेख गरिएको छ । यस्ता अमूल्य सम्पदाको संरक्षण, जगेर्ना र प्रवर्द्धन आजको साझा दायित्व भएको वक्ताहरूले जोड दिएका छन् ।
कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष, नरैनापुर गाउँपालिका प्रशासन प्रमुख तथा अन्य अतिथिहरूले मन्तव्य राख्दै पर्यटन विकासमा मिडियाको भूमिका अझ प्रभावकारी बनाउँदै नरैनापुरलाई पहिचान दिलाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ बाँकेले नरैनापुर गाउँपालिकाको पर्यटन प्रवर्द्धनका लागि तयार गरिएको पाँच बुँदे प्रतिबद्धता गाउँपालिका अध्यक्षलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ । उक्त प्रतिबद्धताले नरैनापुरलाई सम्भावनाले भरिएको उदाउँदो पर्यटन गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा तथा नरैनापुर गाउँपालिकाको सहयोगमा सम्पन्न उक्त कार्यक्रम पर्यटन, संस्कृति र पहिचान प्रवर्द्धनको दिशामा सार्थक र प्रेरणादायी बनेको आयोजकले बताएका छन् ।
