पुष ७, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बस्ने धादिङ निलकण्ठ नगरपालिका–१३ घर भएका २४ वर्षीय सुजन आले मगर रहेका छन्। उनले अमेरिका पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख ५५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले सुजनलाई काठमाडौं महानगरपालिका–११ क्षेत्रबाट आइतबार पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
