पुष ७, काेहलपुर । भेनेजुएला नजिकको अन्तर्राष्ट्रिय जलक्षेत्रमा तनाव चर्किँदै गएको अवस्थामा अमेरिकी कोस्ट गार्डले अर्को एक पानीजहाजलाई सक्रिय रूपमा पछ्याइरहेको जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार यसै महिनामा दुईवटा तेल ट्याङ्कर पानीजहाज नियन्त्रणमा लिइसकिएको छ । तीमध्ये एउटा पानीजहाज गत शनिबार नियन्त्रणमा लिइएको थियो ।
आइतबार पछ्याइएको पानीजहाज भेनेजुएलामाथि लगाइएका अमेरिकी प्रतिबन्धहरू छल्ने प्रयाससँग सम्बन्धित रहेको एक अमेरिकी अधिकारीले बताएका छन् । उनका अनुसार उक्त पानीजहाजले नक्कली झन्डा फहराइरहेको छ र त्यसलाई जफत गर्न अमेरिकी अदालतको न्यायिक आदेश जारी भइसकेको छ ।
वाशिङ्टनले भेनेजुएलाले तेल बिक्रीबाट प्राप्त आम्दानी लागुऔषध तस्करी र अन्य आपराधिक गतिविधिमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ। तर भेनेजुएला सरकारले अमेरिकी कदमको कडा आलोचना गर्दै ट्याङ्कर नियन्त्रणमा लिनु ‘चोरी र अपहरण’ सरह भएको प्रतिक्रिया दिएको छ ।
यस घटनाले अमेरिका–भेनेजुएला सम्बन्धमा थप तनाव बढाउने संकेत देखिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् ।
