नेपालगञ्ज । क्रिकेट प्रतियोगितामा ऐतिहासिक जित हासिल गरेपछि लुम्बिनी लायन्सले ट्रफी टुरको औपचारिक कार्यक्रम सार्वजनिक गरेको छ। टोलीले जितको खुसी समर्थकहरूसँग साट्न लुम्बिनी प्रदेश तथा आसपासका विभिन्न जिल्लामा ट्रफी टुर गर्ने जनाएको हो।
सार्वजनिक सेडुल अनुसार लुम्बिनी लायन्सको ट्रफी टुर २०८२ पुष ५ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा टोलीले बाँके, दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी र रुपन्देही लगायतका जिल्लामा पुगेर समर्थकसँग भेटघाट तथा उत्सव कार्यक्रम गर्नेछ।
टुरको सुरुवात पुष ५ गते बाँकेको बागेश्वरी मन्दिर पूजा तथा नेपालगञ्ज बजार परिक्रमा गर्दै हुनेछ। त्यसपछि क्रमशः दाङ, रुकुम, रोल्पा, प्युठान हुँदै पश्चिम तथा मध्य लुम्बिनीका विभिन्न स्थानमा कार्यक्रम तय गरिएको छ। पुष १६ गते रुपन्देहीको सिद्धार्थनगरमा समापन कार्यक्रम आयोजना गरिनेछ, जहाँ साँझ ६ बजेदेखि कन्सर्टसमेत हुने जानकारी दिइएको छ।
लुम्बिनी लायन्स व्यवस्थापनले ट्रफी टुरले क्रिकेटप्रतिको जनचासो बढाउने, युवा खेलाडीलाई प्रेरणा दिने र समर्थकहरूसँगको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। स्थानीय तहका खेलप्रेमी, युवा तथा समर्थकहरूलाई कार्यक्रमस्थलमा उपस्थित भई जितको उत्सवमा सहभागी हुन आग्रह गरिएको छ।
लुम्बिनी लायन्सको यो ट्रफी टुरलाई क्रिकेट जितको उत्सव मात्र नभई लुम्बिनी क्षेत्रको खेल संस्कृतिलाई थप उचाइमा पुर्याउने अभियानका रूपमा हेरिएको छ।

