काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वर र शब्दमा बनेको गीत ‘आमनेपाली बुवा’ ले युट्युबमा रिलिज भएको २४ घण्टामै १० लाख भ्यूज पार गर्दै चर्चा बटुलेको छ।
फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ओरिजिनल साउन्ड ट्रयाक (ओएसटी)का रूपमा सार्वजनिक गरिएको यो गीतले भ्यूजसँगै दर्शक–स्रोताबाट उत्साहजनक प्रतिक्रिया पाएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कविता ‘कुन मन्दिरमा जान्छौं यात्री’ को कम्पोजमा आधारित गीतमा बालेनले आफ्नै शब्द र स्वर भरेका छन्। गीतको कोरसले श्रोतालाई मन्त्रमुग्ध बनाएको प्रतिक्रिया युट्युबमा व्यापक देखिन्छ।
२४ घण्टाभित्र सबैभन्दा धेरै हेरिने नेपाली गीतको रेकर्ड भने दुर्गेश थापा र सिसन बानियाँको सहकार्यमा बनेको ‘जाने भए जाम माया’ को नाममा छ, जसले २० घण्टामै १६ लाख ३६ हजार भ्यूज प्राप्त गरेको थियो। यसअघि विष्णु माझीको ‘आइन आमा यो तीज’ तथा फिल्म ‘छक्कापञ्जा’ श्रृंखलाका केही गीतले पनि २४ घण्टामा ९–१० लाख भ्यूजको आँकडा छोएका थिए।
यसैबीच, बालेनको गीत समेटिएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ आगामी ४ पुस मा देशभर प्रदर्शनमा आउँदैछ। गीतको सफलतासँगै फिल्मप्रतिको अपेक्षा पनि थप बढेको छ।
