काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमाका अवसरमा देशभर गुरुपूर्णिमा पर्व श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै छ । ज्ञानको उज्यालो छर्ने गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्ने यस पर्वमा विद्यार्थी तथा शिष्यहरूले आफ्ना गुरुहरूलाई सम्मान गर्दै आशीर्वाद लिने परम्परा रहेको छ ।
सनातन परम्पराअनुसार आजकै दिन महाभारतका रचयिता तथा वेदका संकलनकर्ता महर्षि वेदव्यासको जन्म भएको विश्वास गरिन्छ । यही कारण यो पर्वलाई व्यास पूर्णिमा पनि भनिन्छ ।
विद्यालय, कलेज, गुरुकुल, मठ-मन्दिर तथा विभिन्न धार्मिक स्थलहरूमा गुरु सम्मान, पूजा–आराधना र विशेष कार्यक्रम आयोजना गरिएका छन्। कतिपय स्थानमा विद्यार्थीहरूले आफ्ना शिक्षक तथा गुरुजनलाई पुष्पगुच्छा, टीका र सम्मानपत्र प्रदान गर्दै कृतज्ञता व्यक्त गरेका छन ।
गुरुपूर्णिमा हिन्दू धर्मसँगै बौद्ध र जैन धर्मावलम्बीका लागि पनि विशेष महत्वको पर्व हो। जीवनलाई सही दिशा देखाउने गुरुको योगदानको स्मरण गर्दै ज्ञान, संस्कार र नैतिक मूल्यप्रतिको प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा यो पर्व मनाइन्छ ।
गुरुको सम्मानले ज्ञानप्रतिको श्रद्धा, संस्कृतिको संरक्षण र गुरु-शिष्य सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।

