नेपालगञ्ज, साउन ११ – जिल्ला प्रहरी कार्यालय बाँकेले संगठित रूपमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट चोरी भएका दुई वटा मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार साउन १० गते दिउँसो नेपालगञ्ज उपमहानगरपालिका-१० स्थित ट्राफिक चोक नजिक पार्किङ गरी राखिएको भे ११ प ६८२७ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी भएको सुचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा साँझ करिब ११ बजे नम्बर प्लेट परिवर्तन गरी चोरीको मोटरसाइकल चलाइरहेका इन्द्र प्रसाद थारु र सन्जु रेश्मी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानलाई थप विस्तार गर्दा मोटरसाइकल चोरीको मुख्य योजनाकारका रूपमा डुडुवा गाउँपालिका-४ निवासी २२ वर्षीय समिर बागवान रहेको खुलेको प्रहरीले जनाएको छ। समिरले चोरीपछि नेपालगञ्ज-१८ कारकाँदोस्थित जाकिर हुसेन सञ्चालित जे.के. स्टिकर हाउसमा लगेर मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार सिसिटिभी फुटेज तथा अन्य प्राविधिक विश्लेषणका आधारमा समिर बागवान अन्य मोटरसाइकल चोरीका घटनामा समेत संलग्न रहेको देखिएको छ । अनुसन्धानकै क्रममा समिरले चोरी गरी बिक्री गरेको अर्को भे ७ प ७३७८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल समेत खरिदकर्तासहित बरामद गरिएको छ ।
पक्राउ पर्नेहरू
- समिर बागवान (२२), डुडुवा गाउँपालिका-४, बाँके
- इन्द्र प्रसाद थारु (२३), कोहलपुर नगरपालिका-७, बाँके
- सन्जु रेश्मी मगर (२०), नेपालगञ्ज उपमहानगरपालिका-२०, बाँके
- जाकिर हुसेन कवडिया (२०), सञ्चालक, जे.के. स्टिकर हाउस, नेपालगञ्ज-१८
- सैफुद खाँ (२६), डुडुवा गाउँपालिका-३, बाँके
बरामद भएका सवारी
- भे ११ प ६८२७ नम्बरको होण्डा साइन मोटरसाइकल
- भे ७ प ७३७८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ परेका सबै व्यक्तिमाथि मोटरसाइकल चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

