बाँके २०८३ जेठ २३ – फलोअप उपचारका लागि अस्पताल पुगेकी शिला श्रेष्ठको मृत्यु : निष्पक्ष छानबिनका लागि मेडिकल काउन्सिलको टोली बाँकेमा पुगेको छ । फलोअप उपचारका लागि अस्पताल पुगेकी शिला श्रेष्ठको उपचारका क्रममा मृत्यु भएपछि घटना यतिबेला विवादको विषय बनेको छ । मृतकका श्रीमान् अमृत श्रेष्ठले उपचार प्रक्रियामा गम्भीर लापरबाही भएको तथा डा. राजन महतको कारण श्रीमतीको ज्यान गएको दाबी गर्दै कानुनी उपचारको माग गरेका छन । यद्यपि सम्बन्धित पक्षले भने घटनाबारे फरक धारणा सार्वजनिक गरेको छ।
पीडित परिवारले घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिए कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दर्ता गराएको छ ।
जाहेरी दर्तापछि बाँकेका प्रमुख जिल्ला अधिकारीको सक्रियतामा काठमाडौंबाट नेपाल मेडिकल काउन्सिलको अनुसन्धान टोली बाँके आइपुगेको छ । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आयोजित प्रारम्भिक छलफलमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जीसी, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि तथा मेडिकल काउन्सिलको टोलीले पीडित परिवारको प्रारम्भिक भनाइ सुनेर अनुसन्धान प्रक्रिया सुरु गरेका छन ।
पीडित परिवारले घटनाको तेस्रो दिनसम्म पनि संयम अपनाउँदै कानुनी प्रक्रियामार्फत न्याय खोजिरहेको जनाएको छ। परिवारले सत्य बाहिर आउने र आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेको छ ।
मेडिकल काउन्सिल अनुसन्धान टोलीले दुवै पक्षका भनाइ, उपचारसम्बन्धी कागजात तथा अन्य प्रमाणहरूको गहिरो अध्ययन गरी निष्पक्ष रूपमा सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।
घटनाले स्वास्थ्य सेवाको उत्तरदायित्व, बिरामीको सुरक्षा तथा उपचार प्रक्रियाको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। अब सबैको चासो अनुसन्धानको निष्कर्ष र न्यायिक प्रक्रियातर्फ केन्द्रित भएको छ ।
