काठमाडौं, १८ जेठ – प्रतिनिधिसभामा भएको हंगामा र सांसदहरूको व्यवहारबारे छानबिन गर्न संसद सचिवालयले समिति गठन गरेको छ । सभामुख डोलप्रसाद अर्याल ले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति बनाइएको जानकारी दिएका छन ।
गत जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा केही सांसदहरूले मर्यादाविपरीत व्यवहार गरेको, बैठकको वातावरण अव्यवस्थित बनाएको तथा भौतिक क्षति पुर्याएको विषयलाई गम्भीर रूपमा लिइएको छ । घटनाबारे विस्तृत जाँचबुझ गरी प्रतिवेदन तयार गर्न प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी को संयोजकत्वमा समिति गठन गरिएको हो ।
सभामुखले प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने बताएका छन । समितिमा संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्यका रूपमा रहेका छन ।
आइतबारको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । नियमावली पारित गर्ने क्रममा उत्पन्न विवादले चर्को रूप लिएपछि सांसदहरूबीच धकेलाधकेल र घम्साघम्सीसमेत भएको थियो । विपक्षी दलले नियमावलीमाथिका संशोधन प्रस्ताव थप छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने माग गरेका थिए । तर दफावार छलफल सम्पन्न भइसकेको र प्रक्रिया अगाडि बढिसकेको भन्दै सभामुखले संशोधन प्रस्तावहरूलाई सदनमै निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यसक्रममा विरोध र नाराबाजीकै बीच नियमावलीको प्रक्रिया अगाडि बढेपछि संसद्को मर्यादा र सांसदहरूको आचरणबारे प्रश्न उठेको छ ।
छानबिन समितिको प्रतिवेदनले घटनाको वास्तविकता उजागर गर्ने र संसद्भित्र अनुशासन कायम राख्न आवश्यक कदम चाल्ने अपेक्षा गरिएको छ ।
