काठमाडौं । दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पका रूपमा लिँदै भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सामूहिक जिम्मेवारीबोधका साथ कटिबद्ध हुन निर्देशन दिनुभएको छ ।
आइतबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आयोजित निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पश्चात अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे स्पष्ट निर्देशन दिनुभएको हो ।
उहाँले आसन्न निर्वाचनमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर कार्य गर्ने उल्लेख गर्दै सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक रणनीतिसहित सधैं तयारी अवस्थामा रहन निर्देशन दिनुभयो। सूचना संकलनलाई विशेष प्राथमिकतामा राख्दै सुरक्षा संवेदनशीलताको विश्लेषण गरी प्रभावकारी परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै, भरपर्दो सुरक्षा योजना अवलम्बन गर्दै अन्य सुरक्षा निकाय तथा सरोकारवाला पक्षहरूसँग निरन्तर समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने, अवाञ्छित गतिविधिमा संलग्न हुने तथा सामाजिक सञ्जालमार्फत गलत वा मिथ्या सूचना फैलाउनेहरूलाई कानुनी दायरामा ल्याउन थप सक्रिय हुन निर्देशन दिनुभयो। आपराधिक क्रियाकलाप हुन नदिन बलियो प्रहरी उपस्थितिसँगै संयुक्त परिचालन र पूर्वअभ्यासलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले निर्वाचनको वातावरण शान्तिपूर्ण बनाउन सम्बन्धित निर्वाचन अधिकृत र मतदान अधिकृतसँग आवश्यक समन्वय गरी मतदान केन्द्र निर्माण तथा मतदानस्थलको सुरक्षा व्यवस्थामा कुनै त्रुटि हुन नदिन सचेत रहन निर्देशन दिनुभयो । थप मद्दतका रूपमा खटिने प्रहरी कर्मचारीहरूको उचित व्यवस्थापन र परिणाममुखी परिचालनमा केन्द्रित हुन पनि उहाँले आग्रह गर्नुभयो। साथै, आर्थिक अपराध तथा हुण्डी कारोबारमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन खरो रूपमा प्रस्तुत हुन निर्देशन दिनुभयो ।
कार्यक्रममा कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी र मानवस्रोत विकास विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले जनशक्ति व्यवस्थापन, आचारसंहिता पालना, मतदानस्थल सुरक्षा, मतपेटिका ढुवानी तथा विद्यमान सुरक्षा चुनौतीबारे निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिका साथै देशभरका प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र निर्वाचन सेलका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल सहभागिता रहेको थियो ।
